काठमाडौँ । आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीले घरघरमा वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गरिने पवित्र कुश भित्र्याएर यो पर्व मनाउँदैछन्।
हरेक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशेऔँसीमा शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर ल्याइएको कुश घरमा राख्ने चलन छ। धार्मिक विश्वासअनुसार यसरी घरमा राखिएको कुशले परिवारको कल्याण हुने मान्यता छ।
प्रा. डा. देवमणि भट्टराईका अनुसार कुशेऔँसीका दिन उखेलिएको कुश वर्षभरि देव तथा पितृकार्यमा प्रयोग गर्न सकिन्छ। अन्य दिन उखेलिएको कुश भने सोही दिन मात्र प्रयोग गर्न सकिने शास्त्रीय मान्यता छ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्ने गर्छन्। धार्मिक मान्यताअनुसार सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुशको पनि उत्पत्ति गराउनुभएको विश्वास छ।
जीवित बाबुलाई सम्मान, दिवङ्गत पितृको सम्झना
कुशेऔँसीलाई बाबुको मुख हेर्ने दिनका रूपमा पनि मनाइन्छ। यस दिन छोराछोरीले आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाएर सम्मान प्रकट गर्छन् र बाबुको आशीर्वाद लिने चलन छ।
बाबु दिवङ्गत भइसकेकाहरू भने विभिन्न तीर्थस्थल पुगेर पितृको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्छन्।
काठमाडौंको गोकर्णेश्वरस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा यस अवसरमा विशेष मेला लाग्दैछ। उत्तरगयाका रूपमा समेत चिनिने गोकर्णेश्वरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान र सिदादान गर्नेको भीड लाग्ने गर्छ।
मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतका अनुसार मेलाका लागि आवश्यक तयारी पूरा गरिएको छ।
त्यस्तै रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावतीमा पनि कुशेऔँसीका अवसरमा मेला लाग्ने गर्छ। तर यस वर्ष भोटेकोशीमा आएको बाढीका कारण वेत्रावतीमा मेला हुने–नहुने विषय अझै निश्चित भइसकेको छैन।
‘पितृदेवो भव’को संस्कार
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार कुशेऔँसीमा जीवित बाबुलाई श्रद्धापूर्वक भोजन गराई आशीर्वाद लिने परम्परा छ। बाबु दिवङ्गत भइसकेकाहरूले भने गोकर्णलगायत तीर्थस्थलमा पुगेर तर्पण तथा सिदादान गर्ने गर्छन्।
धार्मिक मान्यताअनुसार यस दिन गरिएको दान तथा पुण्यकर्मको विशेष फल प्राप्त हुने विश्वास छ। त्यसैले कुशेऔँसीलाई बाबुप्रतिको सम्मानसँगै दिवङ्गत पितृप्रतिको श्रद्धा र स्मरण गर्ने पर्वका रूपमा लिइन्छ। रासस














