पोखरा । थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सहकारी ठगीका सबै अभियुक्तहरूको सम्पत्ति रोक्का गर्न पत्राचार गरिएको छ। नेपाल प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार लामिछानेसहित सबै अभियुक्तको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायलाई पत्राचार भइसकेको छ।
‘सहकारी ठगीका अभियुक्तहरूको बैंक खाता, सेयर, जग्गाजमिन लगायत सम्पत्ति कारोबार गर्न नमिल्ने गरी रोक्का गर्न पत्राचार गरिसकेका छौं,’ ती अधिकारीले भने।
कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माले भने यस विषयमा खुलाउन चाहेनन्। अभियुक्त उपर अनुसन्धान भइरहेकाले खुलाउन नमिल्ने उनको तर्क छ।
पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न चौथो पटक म्याद थप्ने क्रममा कास्कीका जिल्ला न्यायाधीश नवराज दाहालले अभियुक्तको सम्पत्ति रोक्का भएरनभएको र बिगो के छ भनेर प्रश्न राखेका थिए।
इजलासमा न्यायाधीश दाहालले सहकारी पीडितको रकम फिर्ता कसरी हुन्छ ? बिगो के छ ? अभियुक्तहरूको धन सम्पत्ति के छ ? भनेर अनुसन्धान अधिकृतलाई सचेत गराएको इजलासमा उपस्थित सहकारी पीडित किरण श्रेष्ठले बताए।
अभियुक्तको धन सम्पत्ति, बिगोका विषयमा कुरा उठाईयो,’ उनले भने, ‘अनुसन्धानकर्ताले जाहेरीकर्तालाई यस विषयमा जानकारी दिएको छ कि छैन भनेर पनि सोध्नुभएको थियो।’
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत लामिछानेमाथि अनुसन्धान भइरहेको छ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका प्रमुख जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले अभियुक्तहरूको सम्पत्ति रोक्का राख्न अनुसन्धान अधिकृतले पत्राचार गर्नुपर्ने बताइन्। उनले यस विषयमा प्रहरीले आफूलाई जानकारी नदिएको बताइन्।
अभियुक्तको सम्पत्ति रोक्का राख्न अनुसन्धान अधिकृतले मालपोत, बैंक लगायत सम्बन्धित निकायमा पत्राचार गर्नुपर्छ। यसबारे प्रहरीले हामीलाई जानकारी दिएको छैन,’ उनले भनिन्, ‘अनुसन्धान प्रतिवेदन आइसकेपछि सम्पत्ति रोक्का राख्न पत्राचार गरेको छैन भने हामी गर्छौं।’
सहकारी ठगीका अभियुक्तहरू क–कसले के कति बिगो तिर्ने भन्नेबारे अदालतबाट फैसला आएपछि थाहा हुने उनले बताइन्।
अनुसन्धानका क्रममा क–कसले कति रकम हिनामिना गरेका रहेछन् भन्ने प्रतिवेदन अदालतमा अभियोजन दर्ता गर्दा समावेश हुने काफ्लेले बताइन्। फैसला भइसकेपछि अदालतको फैसला कार्यान्वयन शाखामार्फत् दोषी ठहर भएका व्यक्तिको सम्पत्ति बिक्री गरेर भए पनि पीडितले आफ्नो बचत फिर्ता पाउने उनको भनाइ छ।
पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी ढंगले गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम लगेर हिनामिना गरेको आरोप लामिछानेमाथि छ। उनीसँगै पूर्वडिआइजी छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाई लगायतमाथि अहिले अनुसन्धान भइरहेको छ।
उक्त सहकारी ठगीका मुख्य अभियुक्त मानिएको सहकारी संचालक एव गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई भने फरार छन्। कास्कीमा सूर्यदर्शन, इमेज, बलिदानी, शि शिखर, प्राइम, मित्रमिलन र विन्ध्यावासिनी सहकारीमा ठगी भएको भन्दै मुद्दा अदालत पुगेको छ। यी सहकारीहरूबाट करिब ४ अर्ब हिनामिना भएको पोखरा महानगरका सहकारी संयोजक रविरमण तिवारीले बताए।
‘पोखराका चार वटा सहकारीबाट ४ अर्ब अपचलन भएको प्रतिवेदन छ, मुद्दा अदालतमा विचाराधीन छ,’ उनले भने, ‘अदालतबाट फैसला नआउँदासम्म पीडितले आफ्नो बचत फिर्ता पाउने देखिँदैन।’












