दार्चुला । जिल्लाको मालिकार्जुन गाउँपालिका–७ उकुमा रहेको ऐतिहासिक उकु महलको उत्खननसँगै अनुसन्धान सुरु गरिएको छ । पुरातत्व विभागको टोलीले उकु पुगेर उत्खनन र भग्नावशेषको अनुसन्धान सुरु गरेको हो ।
उत्खनन र अनुसन्धान सुरु गरिए पछि लामो समयदेखि संरक्षण र पुनर्निर्माणको पर्खाइमा रहेको उकु महलको उत्खनन र अनुसन्धान थालिएसँगै संरक्षणमासमेत ध्यान पुग्ने स्थानीयको अपेक्षा छ । गाउँपालिका अध्यक्ष हिरासिंह धामीको अध्यक्षतामा कार्यक्रम गर्दै पुरातत्व विभागको टोलीले उत्खनन कार्य थालनी गरेको छ ।
उकु महलको सम्भावनाबारे उत्खनन गर्न पुरातत्व विभागका पुरातत्व अधिकृत हरि भुसाल, लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमालकुमार उप्रेती र पुरातत्व विभागकै अधिकृत राकेश परिवारले कामको थालनी गरेका छन ।
उकु महलले जिल्लामा धार्मिक तथा सांस्कृति पर्यटनको ठुलो सम्भावना बोकेको पुरातत्व अधिकृत उप्रेती बताउछन । महलको भग्नावशेषमा अहिले पनि शिलालेखमा लेखिएका चट्टान स्पष्ट देख्न सकिन्छ । चट्टानमा शिलालेख लेखिएको र ढुङ्गा कोरेर आकर्षक मूर्ति बनाएका भेटिएका छन् ।
गत वर्ष पनि केही काम भएको थियो । यस वर्ष थप एक महिना काम गर्नेगरी पुरातत्व विभागको टोली आएको भुसालले जानकारी दिए । आगामी फागुन ११ गतेसम्म उत्खनन र अनुसन्धान गर्नेगरी विभागको टोली पुगेको छ ।
उकु भग्नावशेष वरिपरि, मन्दिर क्षेत्र, घर खेत सबैतिरका चट्टानसमेत सङ्कलन गर्ने काम भइरहेको छ । अहिले पनि भग्नावशेष क्षेत्रका भेटिएका सबै शिलालेख सुरक्षित स्थानमा सार्ने काम भइरहेको भुसालले बताए ।
उकु महलको भग्नावशेषस्थलमा विभिन्न शिलालेख लेखिएका चट्टान छरिएर रहेका अवस्थामा जीर्ण बन्दै गएका थिए । परापूर्वकालमा कत्युरी राजाको राजधानीका रूपमा यसलाई निर्माण सुरु गरिएको किंवदन्ती छ । कतुडी राजवंशको अन्त्यपश्चात् १२औँ शताब्दीमा पाल राजा भारतको अस्कोट क्षेत्रमा बसोवास गर्ने गरेको पाइन्छ । सर्वप्रथम रजबार भारती पाल सो क्षेत्रमा दरबार बनाएर बसेको हुनसक्ने इतिहासका जानकारको भनाइ छ ।
हालसम्म पनि उकु, लाली क्षेत्र र उकुसँग सीमा जोडिएको भारतको अस्कोटमा पनि पालको बसोबास रहँदै आएको छ । इतिहासबारे जानकार प्रकाशचन्द्र मिश्र उकु भग्नावशेष नाग पाल राजाले दरबारमा मन्दिर बनाउन उक्त क्षेत्रमा मूर्ति शिलालेख जम्मा गरेको बताउछन ।
उक्त क्षेत्रमा ऐतिहासिक किल्ला, ढुङ्गामा कुँदिएका विभिन्न भगवान्का मूर्ति देख्न सकिन्छ । अस्कोटको इतिहासअनुसार परापूर्वकालमा अभयपाल रणचुलाहाटस्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएको इतिहास छ । रासस











