तान्त्रिक साधनाको केन्द्र मानिने डुङरीको धार्मिक सम्पदाः भुवनेश्वरी मन्दिर

Image

डडेल्धुरा । भागेश्वर गाउँपालिका–४ डुङरी गाउँको मध्यभाग, बगरकोट–बोगटा सडकको छेउमा शताब्दीयौँदेखि श्रद्धाको केन्द्रका रूपमा उभिएको छ भुवनेश्वरी मन्दिर । पुरानो पिपलको चौतारोसँगै अवस्थित यो मन्दिर स्थानीय जनविश्वासअनुसार सिद्ध योगी तथा तान्त्रिक साधकहरूले स्थापना गरेको धार्मिक स्थल मानिन्छ । स्थानीयवासीका अनुसार करिब आठौँ शताब्दीदेखि अस्तित्वमा रहेको मानिने यो मन्दिरको गत आर्थिक वर्ष २०८२/८३ मा परम्परागत नेपाली वास्तुकलालाई जोगाउँदै पुनर्निर्माण गरिएको छ ।

भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतका अनुसार सुदूरपश्चिम प्रदेशको पर्यटन मन्त्रालयबाट प्राप्त १० लाख रुपैयाँ र स्थानीय श्रद्धालुले संकलन गरेको भेटीसमेत गरी करिब ४० लाख रुपैयाँको लागतमा मन्दिर पुनर्निर्माण गरिएको हो । मन्दिरलाई परम्परागत प्यागोडा शैलीमा काठको कलात्मक बुट्टा र तामाको छानासहित निर्माण गरिएको छ । परिसरमा ढुंगाको पर्खाल, घेराबार तथा अन्य संरचनासमेत निर्माण गरिएको छ ।

अध्यक्ष चटौतका अनुसार स्थानीय जनश्रुतिमा सिद्ध तान्त्रिक साधकहरूले पूर्ण तान्त्रिक विधिअनुसार भुवनेश्वरी माताको प्रतिष्ठा गरेको विश्वास गरिन्छ । मन्दिरमा महाकाली, महालक्ष्मी, महासरस्वती र भुवनेश्वरीको पूजा गरिन्छ भने बाहिरी परिसरमा अष्ट भैरवको पनि पूजा हुने परम्परा छ ।स्थानीय परम्पराअनुसार तत्कालीन डोटीका राजा नागी मल्लका सन्तान मानिने बोगटा क्षेत्रका शाही थरीको पहलमा मन्दिर स्थापना भएको भन्ने जनविश्वास पनि रहिआएको अध्यक्ष चटौतले बताउनुभयो । यद्यपि यसको पुष्टि गर्ने समकालीन लिखित ऐतिहासिक अभिलेख भने उपलब्ध छैन ।

वरिष्ठ पत्रकार डीआर पन्तका अनुसार भुवनेश्वरी मन्दिरको सबैभन्दा विशिष्ट पक्ष यसको पूजा–विधि हो । स्थानीय परम्पराले यस मन्दिरलाई अष्ट भैरवको सिद्धि प्राप्त गरेका तान्त्रिक साधकहरूले स्थापना गरेको मान्छ । हामीले बुबा र बाजेबाट सुन्दै आएको कुरा हो, पन्त भने, देवी–देवताको पूजा मुख्यतः वैदिक मन्त्र–विधि र तान्त्रिक विधिबाट गरिन्छ । भुवनेश्वरीमा आज पनि विशेष अवसरमा तान्त्रिक परम्पराअनुसार पूजा गरिन्छ ।

उनका अनुसार विशेषगरी कार्तिक शुक्ल अष्टमीका दिन यहाँ परम्परागत तान्त्रिक विधिबाट विशेष पूजा–अनुष्ठान गर्ने चलन अहिले पनि जीवित छ । सुदूरपश्चिमका धेरै प्राचीन मन्दिरहरूमा स्वयंभू शिला, ज्योतिर्लिङ्ग वा खेतीपातीका क्रममा भेटिएका देवदेवी स्वरूपको पूजा हुने किंवदन्ती पाइन्छ । उनले भने, तर भुवनेश्वरी मन्दिर भने तान्त्रिक साधनाबाट प्रतिष्ठा गरिएको जनविश्वासका कारण फरक पहिचान बोकेको मानिन्छ ।

मन्दिर परिसरबाहिर रहेका साना ढुंगे देवलहरूलाई स्थानीयले भैरवका रूपमा पूजा गर्दै आएका छन । डुङरी गाउँका विभिन्न बस्तीका चटौत ब्राह्मण, भट्ट भ्रणिया र करियाका रुपमा मडै समुदायले पुस्तौँदेखि यस मन्दिरको संरक्षण र पूजा व्यवस्थापन गर्दै आएका छन ।

स्थानीयवासीका अनुसार वि.सं. २०५३ सालतिर भारतको गंगोत्री क्षेत्रमा साधनारत रहेका बर्फानी बाबा केही समयका लागि भुवनेश्वरी मन्दिरमा आएर साधना गरेका थिए भन्ने स्मरण अझै गाउँमा जीवित छ । वरिष्ठ पत्रकार पन्तका अनुसार त्यतिबेला बर्फानी बाबाको परिचय स्थानीयस्तरमा धेरैलाई थिएन । उनी केही दिन बसे र फेरि गए । मैले पनि उहाँको दर्शन गर्ने मौका पाएको थिए । पछि उहाँका शिष्यहरूबाट उहाँको आध्यात्मिक प्रभावबारे थप जानकारी पायौँ, उनले भने ।
पन्तका अनुसार बर्फानी बाबाका शिष्यहरूले उहाँले भुवनेश्वरी मन्दिरसँगै बझाङस्थित सुर्मा सरोवर क्षेत्रमा पनि साधना गरेको बताउनु भएको थियो ।
उनका अनुसार भुवनेश्वरी मन्दिर केवल आस्थाको केन्द्र मात्र नभई सुदूरपश्चिमको तान्त्रिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको अध्ययनका लागि पनि महत्त्वपूर्ण स्थल हो । यसको इतिहास, पूजा–विधि, काठकला, स्थानीय जनश्रुति र धार्मिक परम्पराबारे थप अनुसन्धान हुन सके यसले धार्मिक पर्यटन र सांस्कृतिक अध्ययन दुवै क्षेत्रमा नयाँ आयाम थप्न सक्ने विश्वास स्थानीयको छ ।