हराउँदै रम्बासः गाउँको जीवित बारसँगै ओझेलमा पर्दै परम्परागत सीप

Image

डडेल्धुरा । एक समय थियो, सुदूरपश्चिमका गाउँमा खेतबारीको डिल, कान्ला र भिरालो जमिन रम्बासले ढाकिएका हुन्थे । काँडेदार भएकाले यसले खेतबारीलाई गाईवस्तु र वन्यजन्तुबाट जोगाउँथ्यो । त्यही रम्बासका पातबाट निकालिएको बलियो रेशाले गोठमा गाईभैँसी बाँध्ने डोरी, घाँस, दाउरा, सोतर र स्याला बोक्ने नाम्लो, जाल बन्थे । आज रम्बासका बोट मात्र होइन, त्यसबाट डोरी र जाल बनाउने पुस्तौँ पुरानो सीप पनि विस्तारै हराउँदै गएको छ ।

डोटेली भाषामा रम्बास भनेर चिनिने यो बिरुवाको वैज्ञानिक नाम अगाभे अमेरिकन हो । कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख नरेन्द्र पेनेरुले भने, कम पानी, सुख्खा र ढुंगे जमिनमा पनि सजिलै हुर्कने यो बिरुवा कुनै बेला ग्रामीण जीवनको अभिन्न हिस्सा थियो । डडेल्धुरा, डोटी, बैतडी, अछाम, बझाङ र दार्चुलालगायत जिल्लाका अधिकांश गाउँमा रम्बासले किसानको आत्मनिर्भर जीवनशैलीलाई टेवा दिएको थियो ।

पहिले अधिकांश किसानले पशुपालन गर्दथे । गाई, भैँसी, बाख्रा र भेडा पाल्ने प्रत्येक घरमा रम्बासबाट बनेका डोरी अनिवार्यजस्तै हुन्थे । खेतबारीको जीवित बारका रूपमा रम्बास रोपिन्थ्यो भने त्यसकै रेशाबाट दैनिक जीवनका आवश्यक सामग्री तयार पारिन्थे । खोला किनारका स्थानीयले माछा मार्नसमेत यसको प्रयोग गर्ने गरेका थिए ।

रम्बासको पात काटेर काँडा हटाइन्थ्यो । त्यसपछि पातको हरियो गुदी थिचेर सेता र बलिया रेशा निकालिन्थे । ती रेशालाई पानीले सफा गरी घाममा सुकाइन्थ्यो । सुकाएका रेशालाई हातले बटारेर बलियो डोरी बनाइन्थ्यो । त्यही डोरीबाट घाँस र दाउरा बोक्ने जाल, पशु बाँध्ने डोरी तथा अन्य घरेलु सामग्री तयार गरिने गरेको अमरगढी नगरपालिका ७ का ८६ वर्षिय जेष्ठ नागरिक दानसिहं बोहराले बताए ।

यो काम कुनै कारखानामा नभई गाउँका आँगनमै हुन्थ्यो । घरका ज्येष्ठ सदस्यले साना बालबालिकालाई रेशा निकाल्ने, डोरी बाट्ने र जाल बुन्ने सीप सिकाउँथे । यसरी पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञान नै गाउँको अमूल्य सम्पत्ति थियो ।

हराउँदै बिरुवा, हराउँदै सीप

समयसँगै गाउँको जीवनशैली परिवर्तन भयो । पशुपालन घट्यो । खेतीयोग्य जमिन बाँझिन थाले । काँडेतार, सिमेन्टका पर्खाल र बजारमा पाइने नाइलन तथा प्लास्टिकका डोरीले रम्बासबाट बनेका सामग्रीलाई विस्थापित गर्न थाले ।

यससँगै रम्बास रोप्ने चलन घट्यो । पहिले प्रत्येक गाउँमा देखिने रम्बास अहिले थोरै पुराना कान्ला र भिरमा मात्र सीमित हुन थालेको छ । बिरुवासँगै एउटा महत्वपूर्ण लोक–शिल्प पनि हराउँदै गएको छ । अहिलेका धेरै युवाले रम्बासको रेशा कसरी निकालिन्छ, डोरी कसरी बाटिन्छ, जाल कसरी बुनिन्छ भन्ने देख्नसमेत पाएका छैनन् । सीप सिकाउने पुस्ता घट्दै जाँदा सिक्ने पुस्ता पनि नहुँदा यो परम्परागत ज्ञान लोप हुने जोखिममा पुगेको छ ।

रम्बासको जीवनचक्र आफैँमा अनौठो छ । यो धेरै वर्षसम्म केवल पात बढाउँछ । सामान्यतया १० देखि ३० वर्षपछि बीचबाट अग्लो फूलको डाँठ निकाल्छ । हजारौँ फूल फुलाएपछि मुख्य बिरुवाको जीवन समाप्त हुन्छ । तर त्यसअघि नै फेदबाट नयाँ टुसा उम्रिसकेका हुन्छन, जसले यसको वंशलाई निरन्तरता दिन्छ । कृषि ज्ञान केन्द्रका प्रमुख पेनरुले भने ।

कम पानीमा पनि सजिलै हुर्कने भएकाले पहिरो नियन्त्रण, माटो संरक्षण र जीवित बारका रूपमा यसको महत््व अझै कायम रहेको उनले बताए । उनका अनुसार विश्वका धेरै देशमा अगाभे समूहका बिरुवाबाट प्राकृतिक फाइबर, हस्तकला सामग्री र वातावरणमैत्री उत्पादन तयार गरिन्छ । प्लास्टिकको विकल्प खोज्ने विश्वव्यापी अभियानका बीच प्राकृतिक रेशाको माग फेरि बढ्न थालेको छ ।

नेपालमा पनि रम्बासको रेशा प्रशोधन, डोरी तथा हस्तकलाका सामग्री उत्पादन गर्ने साना उद्योग विकास गर्न सके स्थानीय रोजगारी सिर्जना गर्न सकिन्छ । साथै, हराउँदै गएको परम्परागत सीपलाई पनि पुनर्जीवित गर्न सकिन्छ ।

रम्बास केवल एउटा काँडेदार बिरुवा नभई यो ग्रामीण अर्थतन्त्र, आत्मनिर्भर जीवनशैली, स्थानीय प्रविधि र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको लोक–शिल्पको जीवित दस्तावेज भएको उनको भनाई छ । यदि आजै यसको संरक्षण, नर्सरी विकास र परम्परागत डोरी तथा जाल बनाउने सीपको दस्तावेजीकरण र पुस्तान्तरणमा ध्यान नदिईए केही वर्षपछि रम्बाससँगै यसको कथा पनि इतिहासका पानामा मात्र सीमित हुन सक्ने उनले बताए ।

गाउँका डिलमा उभिएको रम्बासले केवल बालीको सुरक्षा गर्दैनथ्यो, यसले गाउँको श्रम, सीप, संस्कृति र आत्मनिर्भर जीवनको पनि रक्षा गरिरहेको थियो । उनले भने, त्यसैले रम्बास जोगाउनु भनेको एउटा बिरुवा जोगाउनु मात्र नभई गाउँको पहिचान र पुस्तौँदेखिको ज्ञानलाई भविष्यसम्म पु¥याउनु पनि हो ।