बैतडी । वन्यजन्तुको क्षति बढ्दै जाँदा बैतडीमा पछिल्लो समय उखु खेती घट्दै गएको छ । बँदेल, बाँदरले क्षति गर्ने र मिहिनेत तथा लागत अनुसार फाइदा नहुँदा उखु खेती कम भएको हो ।
उखु खेती कम भएपछि जिल्लाका विभिन्न ठाउँमा सजिलै पाइने स्थानीय गुडको उत्पादन घटेको छ । मङ्सिरदेखि नै स्थानीय बजारमा पाइने ‘बैतडीको गुड’ पछिल्लो समय मुस्किलले पाइन्छ । राति बँदेल र दिउँसो बाँदरले उखुबालीमा क्षति पुर्याउन थालेपछि ग्रामीण भेगमा उखु खेती छाड्नु परेको स्थानीय कृषक बताउँछन् ।
गुड बनाउने भाँडाकुँडा, दाउरा, कोललगायतका सामग्रीको लागत बढेका कारण पनि उखु खेती प्रभावित भएको सूर्नया गाउँपालिका ३ का कृषक देवराज भट्ट बताए । अचेल कृषि उपज विक्रिका लागि समस्या नभए पनि पछिल्ला वर्ष वन्यजन्तुबाट बालीनालीमा क्षति हुने क्रम बढ्दै जाँदा किसानले लाभ लिन नसकेको उनले बताए ।
पहिला बारीमा उब्जाएको बस्तु बेच्न न भाउ पाइन्थ्यो, न बजार नजिक थियो । टाढासम्म बोकेर लैजानुपर्दा घाटा हुन्थ्यो, उनले भने, अचेल व्यापारी आएर मोलतोल गर्छन् । तर जनावर र रोगकीराले पहिले जस्तो उत्पादन पनि छैन, घरमा काम गर्ने जनशक्ति पनि रहेन ।
पहरा बसेर बँदेल र बाँदरबाट जोगाएको उखु उत्पादनबाट मिहिनेत अनुसारको मूल्य नपाएको कृषकको गुनासो उनको छ । रोपेको दिनदेखि पहरा नदिए जोगाउन सकिँदैन । जमिन खोस्रिएर बँदेलले बीउ नै उखेलेर खान्छ । हुर्किएको बोट बाँदरले छाड्दैन, उनले भने, जेनतेन जोगाउन सके मिहिनेत अनुसार भाउ पाइँदैन । स्थानीय बजारमा गुड प्रतिकिलो दुई सय ५ रुपियाँसम्ममा कारोबार हुँदै आएको छ । कृषकले किलोको दुई सय रुपियाँमा गुड बिक्रि गर्छन् । उखु पेल्ने मेसिन एक लाख हाराहारी मूल्य पर्छ ।
गुड पकाउन प्रयोग गरिने तामाको भाँडाको भाउ अहिले ५ हजार घटी छैन । दाउराको प्रयोग बढी प्रयोग हुने भएकाले लगानी अनुसार आम्दानी नहुँदा उखु लगाउन छाडेको कृषक भट्ट बताउछन । दिउँसो बाँदर र राति बँदेलको पहरा बसेर उखु जोगाउन मुस्किल हुन्छ, बचेको उखुको गुड सस्तोमै बेच्नुपर्छ, सूर्नया गाउँपालिका ४ का कृषक धौले भट्टले भने, कच्चा पदार्थ र औजार महँगो पर्छ, भारतीय गुडको प्रतिष्पर्धाले मूल्य पाएका छैनौं ।












