कञ्चनपुर । कञ्चनपुरका बस्तीमा जङ्गली हात्ती प्रवेश गरेर आतङ्क मच्चाउन थालेको छ । पुस पहिलो सातादेखि बस्ती प्रवेश गरेको जङ्गली हात्तीको आतङ्कले स्थानीयलाई घर र बालीनाली जोगाउन मुस्किल भएको छ ।
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडीमा बस्ती प्रवेश गरेको एउटा दन्ते हात्तीले आतङ्क मच्चाएको स्थानीयले बताएका छन् । जङ्गली हात्तीले बेलडाँडीस्थित झिलमिला, इमिलियालगायत क्षेत्रमा स्थानीय आजित बनेका छन् ।
आइतबार बिहान ४ बजे सो दन्ते हात्तीले बेलडाँडी गाउँपालिका–५, झिलमिलाका स्थानीय कमल गिरी, नेपाली गिरी र बिरजनी गिरीको घर भत्काउनुका साथै अन्नबालीमा क्षति पु¥याएको छ । रातको समयमा घरमा क्षति पु¥याउँदा परिवारका सदस्य भने भागेर बाँच्न सफल भएका इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ ।
जङ्गली हात्तीले दुईकोठे कच्ची घर भत्काउनुका साथै पाँच कट्ठा जमिनमा लगाइएको उखु, पाँच कट्ठामा लगाइएको गहुँ र तोरी नष्ट गरेको स्थानीय कमल गिरीले बताए । जङ्गली हात्तीले घर भत्काएपछि घरमा बस्दै आएका चार सदस्य बिचल्लीमा परेका छन् । वडा नम्बर ५ का वडाध्यक्ष इन्द्रबहादुर खड्काले जङ्गली हात्तीले स्थानीयको घर भत्काएपछि चिसोमा झनै सास्ती बेहोर्नु परेको बताए ।
यसै गरी जङ्गली हात्तीले स्थानीय नेपाली गिरीको दुईकोठे कच्ची घर भत्काउँदै घरभित्र राखिएको चामल, धान, गहुँ, पिठोसमेत खाएर नष्ट गरेको वडाध्यक्ष खड्काले बताए । अब घरमा खाने अन्नसमेत नभएको स्थानीय गिरीले गुनासो गरे ।
स्थानीय वीरजनी गिरीले जङ्गली हात्ती घरमा पसेर एककोठे कच्ची भान्साघर भत्काई अन्नपात खाएर नष्ट गरेको बताए । जङ्गली हात्तीलाई बस्तीबाट टाढा लान उहाँले सम्बन्धित निकायलाई आग्रहसमेत गरे । अर्कोतिर ऐलानी जमिनमा बस्दै आएका स्थानीय सरकारले क्षतिपूर्तिसमेत उपलब्ध नगराउँदा आजित बनेका छन् ।














