जिप दुर्घटना परि मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

Image
फाइल तस्बिर

बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । डडेल्धुरा अस्पतालमा उपचारको क्रममा घाइते सिगास गाउँपालिका १ स्थित २७ वर्षीय वसन्ती ऐरको मृत्यु भएसँगै मृतकको सङ्ख्या चार पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरजसिंहले जानकारी दिए ।

मोतीनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप आज बिहान ११ बजेको समयमा अनियन्त्रित भई सडकबाट ३०० मिटर तल खसेको थियो ।

दुर्घटनामा परेर सिगास–१ का २४ वर्षीय निशान्त बोहरा, सोही ठाउँका २९ वर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा परेर बैतडीको सिगास–१ बस्ने वर्ष १९ की विमला ऐर, सोही ठाउँकी चार वर्षीया प्रन्सा ऐर, दुधिलाखान बस्ने वर्ष २८ का गणेश विष्ट (चालक), बैतडी पाटन नगरपालिका– ८ बस्ने वर्ष २५ की कमला विष्ट, सिगास गाउँपालिका–१ बस्ने वर्ष २५ की लालमणि बोहरा र डडेल्धुरा आलिताल गाउँपालिका–३ बस्ने वर्ष ३२ को वीरेन्द्र बोहरा घाइते छन् । घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।