डडेल्धुरा । नेपाली कांग्रेसको किल्ला मानिने डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता कायमै रहेको छ । २०४८ साल पछि पहिलो पटक नयाँ उम्मेदवार बनाएको कांग्रेस रास्वपाका उम्मेदवार भन्दा निकै पछि परेका छन । कांग्रेस उम्मेदवार नैनसिंह महरलाई रास्वपाका उम्मेदवार डा. तारा जोशीले चार हजार बढी मत अन्तरले पछि पारेका छन ।
एक मात्रै प्रतिनिधि सभा क्षेत्र रहेको डडेल्धुरामा यस अघि २०४८ साल यता भएका निर्वाचनमा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापती शेरबहादुर देउवा उम्मेदवार बन्दै निर्वाचित हुदै आएका थिए । यस पटक भने उनले उम्मेदवार मनोनयन दर्ताको अघिल्लो राति मात्रै उम्मेदवार नबन्ने जानकारी गराएका थिए ।
रास्वपाका उम्मेदवार जोशीको अग्रता कायमै रहदा कांग्रेसको किल्ला भत्किने पक्का भएको छ । देउवा २०४८ यताका सात वटै चुनावमा निर्वाचित हुदा डडेल्धुरालाई कांग्रेसको किल्लाको रुपमा लिईन्थ्यो । रास्वपा उम्मेदवार जोशी २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई सुदूरपश्चिम प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । प्रतिनिधि सभा निर्वाचनमा भाग दिन उनले प्रदेश सभा सदस्यबाट राजिनामा दिएका थिए ।
सात वटा पालिका रहेको डडेल्धुरामा हालसम्मको जानकारी अनुसार रास्वपाका उम्मेदवार जोशीले १२ हजार ८४३ मत प्राप्त गरि अग्रता कायमै राखेका छन । उनका प्रतिद्धन्दि कांग्रेस उम्मेदवार महरले आठ हजार ४०४ मत प्राप्त गरेका छन । मुख्य निर्वाचन अधिकृत अरुण कुमार कोईरालाका अनुसार हालसम्म ३३ हजार ५८ मत गणना गरिएको छ । अहिले सम्म एक हजार ८८३ मत बदर भएको उनले जानकारी दिए ।
मतगणना शुक्रबार बिहान ११ः०० बजे पछि जिल्लाको सबैभन्दा बढी मतदाता संख्या रहेको परशुराम नगरपालिकाका मतदान केन्द्रका मतपेटिकाबाट सुरु गरिएको थियो । अहिलेसम्म परशुराम नगरपालिकासंगै भित्रिमधेशकै आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका, नवदुर्गा गाउँपालिका र अजयमेरु गाउँपालिकाको मतगणना सकिएको छ ।
अब जिल्ला सदरमुकामको अमरगढी नगरपालिका र रास्वपा उम्मेदवारको गृह पालिका गन्यापधुरा गाउँपालिकाको मत गणना हुन बाँकी छ । २१ गते भएको निर्वाचनमा डडेल्धुरामा जम्मा ४५ हजार ९०९ मत खसेका थिए । कुल मतदाता संख्या ९३ हजार ४०३ रहेको डडेल्धुरामा महिला २५ हजार ३१३ र पुरुष २० हजार ५९६ मत गरि उक्त संख्यामा मत खसेका थिए ।















