परशुराम धाममा रोपिए रुद्राक्षका विरुवा, सुदूरपश्चिमको धार्मिक बगैँचा बनाईने

Image
धार्मिक बगैँचा बनाईने परशुरामधाम क्षेत्रमा रुद्राक्षको विरुवा रोप्दै सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर थापा, काँग्रेस डडेल्धुरा सभापती भिम बहादुर साउदलगायत अन्य नेता एवं जनप्रतिनिधिहरु । तस्बिरः पुष्कर भण्डारी ।

डडेल्धुरा । भगवान बिष्णुको छैटौं अवतार चिरञ्जीवी परशुरामले ध्यान, तपस्या गरेको पवित्र धार्मिक, साँस्कृतिक तथा पर्यटकीय तीर्थस्थल परशुरामधाममा धार्मिक बगैँचा बनाउन रुद्राक्षका विरुवा रोपिएका छन । महाकाली नदी किनारको बिशाल फाँटमा फैलिएको परशुराधमा सुदूरपश्चिम प्रदेश कै धार्मिक बगैँचा बनाउन रुद्राक्षका विरुवा रोपण गरिएको परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीले बताए ।

पहिलो पटक प्रथम सुदूरपश्चिम मेयर फोरम २०८१ को आयोजना गरेको परशुरामले यस प्रदेशका ८८ वटै स्थानीय तहको एउटा रुद्राक्षको विरुवा यहाँ रोपिने बताए ।

रुद्राक्ष धार्मिक विरुवा हो । हिन्दु धर्ममा रुद्राक्षको निकै ठूलो महत्व रहेको छ । रुद्राक्षको दाना उत्पादन गरि यहाँका स्थानीयलाई व्यावसायसंग जोड्न सकिन्छ । उनले भने, मेयर फोरममा सुदूरका सम्भावना, अरु स्थानीय तहले गरेको राम्रा कामको अनुशरण, महाकाली सम्वाद मार्फत र्याफ्टिंगको व्यावसायीक सुरुवात, धार्मिक बगैँचा निर्माण गरि सुदुरपश्चिम प्रदेशका ८८ वटै स्थानीय सरकारको अपनत्व र स्थानीयलाई व्यावसायसंग जोड्न रुद्राक्षका विरुण रोपेका छौ ।

परशुराम धाममा प्रथम सुदूरपश्चिम मेयर फोरम सुरु

भगवानको पूजाआजामा रुद्राक्षका माला चढाउने, प्रसादका रुपमा ग्रहण गर्ने परम्परा रहिआएको छ । उनले भने, अहिले धार्मिक स्थल वा भनौ हिन्दुधर्माबलम्बिहरुले आयोजना गर्ने कार्यक्रमहरुमा रुद्राक्षका माला घाँटीमा लगाई स्वागत, सम्मान गर्ने चलन बढ्दै गएको छ । रुद्राक्षका दाना उत्पादन गरि माला बिक्रि वाफत यहाँका स्थानीयहरु लाई व्यावसायसंग जोड्न सकिन्छ भन्ने लक्ष्य राखेर रुद्राक्षका विरुवा रोपेको उनले बताए ।

महाकाली नदीमा र्‍याफ्टिंग गर्दै सम्पन्न भयो मेयर फोरम

परशुराम नगरपालिकाले परशुरामधाममा आयोजना गरेको मेयर फोरममा मात्रै एक लाख बढी मूल्यका रुद्राक्षका माला खरिद गरेको छ । स्वागत सम्मानमा प्रत्येक वर्ष माघि संक्रान्तिकामा पनि रुद्राक्षका माला खरिद गर्दैआईरहेको उनको भनाई छ । परशुराम धाममै रुद्राक्ष उत्पादन गर्न सके वार्षिक रुपमा लाखौ मूल्यमा रुद्राक्षका मालाको आयात रोक्न सकिने छ । धार्मिक बगैँचा निर्माणले अवलोकन कर्ताहरुसमेत बढ्ने विश्वास उनको छ ।

‘नीति बदल्दै सम्भावनालाई सम्भव बनाऔँ, लगानी बढाऔँ’

परशुरामधाम नेपालका चार वटा धामहरु मध्येका एक धामका रुपमा लिईन्छ । हिमनदी महाकालीको यस क्षेत्रमा स्नान गर्नाले गंगा स्नानसमान पुण्य प्राप्त हुने स्कन्द पुराणमा वर्णित छ । यहाँ मकर स्नानको महत्व झनै ठूलो मानिन्छ ।

खासगरी माघे संक्रान्तिको बेला ठूलो मेला लाग्ने परशुरामधाम मन्दिरको विशिष्ट महिमा छ । महाभारतबाट निस्किएको रंगुन नदी र मानसरोवरबाट निस्किएको श्यामा, सरयु र महाकाली नदीको संगमस्थलका रुपमा परिचित परशुराम धाम क्षेत्रको बारेमा धार्मिक ग्रन्थहरुमा समेत उल्लेख गरिएको पाइन्छ ।

त्रेतायुगमा विष्णुको छैटौं अवतारको रुपमा परशुरामले हैह्यवंशी क्षेत्रीहरुको २१ पटक संहार गरेपछि पुनःयही क्षेत्रमा आएर तपस्या गर्दै यज्ञ गरेको स्कन्दपुराणको मानसखण्डमा वर्णन गरिएको छ । यस्तै, यो क्षेत्रमा धर्मराज युधिष्ठिरलेसमेत यज्ञ गरेको र धर्मको लागि द्वारको समेत निर्माण गरेको जनविश्वास रहिआएको छ ।

धाम क्षेत्र करिब ८५ बिगाह क्षेत्रफलमा फैलिएको छ । यो परिसरमा परशुरामकी आमा रेणुकाको मन्दिर, धर्मद्वार, सत्ययुगदेखि रहेको बताइने वर–पीपल समेत देख्न पाईन्छ । साथै, परशुराम स्नानघाट, बाङ्घाट र भागेश्वर घाट पनि छन ।

माघे संक्रान्तिको मेलामा डडेल्धुराका साथै डोटी लगायत ठाउँका २२ देवताका देउरालाई स्नान गर्नयस क्षेत्रमा ल्याउने गरिन्छ । माघे संक्रान्तिका साथै औंशी, पूर्णिमा र ग्रहण लागेको समयमा समेत यस क्षेत्रमा अन्य भक्तजनहरु स्नान गर्न आउने गरेका छन । सुदूरपश्चिमबाट नजिकै रहेको भारतीय तीर्थस्थल हरिद्वारको जति नै महिमा र आस्था परशुराम क्षेत्रको रहेको पाइन्छ ।

महाकाली सम्वाद गर्दै यसरी सुरु भयो र्‍याफ्टिंग (भिडियो)

यहाँ बाबा परशुरामको सबैभन्दा अग्लो मूर्तीसमेत निर्माण गरिएको छ । धाममा परशुरामको ५४ फिट अग्लो मूर्ती निर्माण गरिएको हो । परशुराम धामको गुरुयोजना बनाई विकास गरिन थालिएको छ । धाममा गुरुयोजना अनुसार भौतिक पुर्वाधारको निर्माणको कामसमेत भईरहेको छ ।

धार्मिक बगैँचा बनाईने परशुरामधाम क्षेत्रमा रुद्राक्षको विरुवा रोप्दै सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर थापालगायत अन्य नेता एवं जनप्रतिनिधिहरु । तस्बिरः पुष्कर भण्डारी ।