गलत इन्जिनियरिङले विपदमा बढी क्षति

Image

काठमाडौँ । मुलुकको पूर्वाधार निर्माणमा पर्याप्त भूगर्भिक (जियो) तथा जैविक (बायो) इन्जिनियरिङको प्रयोग भएको देखिँदैन । जसले गर्दा मुलुकभरका राजमार्ग र मुख्य सडक पहिरोले थिलथिलो हुने, भासिने र अवरुद्ध हुने, पुल निर्माण हुँदाहुँदै भासिने तथा सञ्चालन हुनुअघि नै भत्किने जस्ता समस्या देखा पर्ने गरेका छन् ।

सङ्घीय सरकारमार्फतनिर्माण हुने गरेका सडक तथा पुलको निर्माणमा भूगर्भिक तथा जैविक (बायो) इन्जिनियरिङको प्रयोग केही हदसम्म गरेको देखिए पनि स्थानीय तह र कतिपय ठाउँमा प्रदेश सरकारबाट निर्माण गरिने पूर्वाधार निर्माणमा त्यसको प्रयोग गरिएको देखिँदैन ।

पूर्वसचिव इन्जिनियर अर्जुनजङ्ग थापाले सङ्घीय सरकारमार्फत हुने मुख्य पूर्वाधारबाहेक अन्य पूर्वाधार निर्माणमा पर्याप्त भूगर्भिक तथा जैविक इन्जिनियरिङ प्रयोग हुन नसकेको बताए ।

सडक विभागको पूर्वमहानिर्देशकसमेत रहेका थापाले स्थानीय र प्रदेश सरकारबाट निर्माण हुने पूर्वाधारमा भूगर्भिक तथा जैविक (बायो) इन्जिनियरिङको प्रयोग नहुने गरेको जानकारी दिए । ्

उनले भने, “सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत निर्माण हुने राजमार्ग तथा पुलहरूमा यस इन्जिनियरिङको प्रयोग गरिए पनि सानातिना सडक तथा पुलमा प्रयोग गरिएको छैन ।’’

कतिपय ठाउँमा भूगर्भिक अध्ययन र इन्जिनियरिङ प्रयोग गरिए पनि प्रभावकारी नभएको उनको भनाइ छ । उनका अनुसार विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा भूगर्भिक तथा जैविक (बायो) इन्जिनियरिङको प्रयोग गरिए पनि दमौली खण्डको घाँसीकुवा भन्ने ठाउँमा यही बर्सात्मा ठुलो पहिरो गएको थियो । त्यसै गरी निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा ठुलो पहिरो गएको थियो ।

पूर्वसचिव थापाले गलत इन्जिनियरिङका कारणसमेत कतिपय ठाउँमा समस्या देखिएको बताए । पुलहरू निर्माणकै क्रममा भासिनु, हावाले उडाउनु, सडकमा एकातिर कालोपत्रे हुनु र अर्कोतर्फ उप्किनु गलत तथा अपर्याप्त इन्जिनियरिङकै परिणाम रहेको बताउछन ।

इहमी विश्वविद्यालय जापानमा अध्यापनरत भूगर्भविद् प्राडा नेत्रप्रकाश भण्डारीले नेपाल जस्तो भूबनोट भएको मुलुकमा पूर्वाधार निर्माणमा भूगर्भिक तथा जैविक (बायो) इन्जिनियरिङको प्रयोग तथा महत्व जुन रूपमा हुनुपथ्र्यो त्यस्तो हुन नसकेको बताउछन ।

उनले भने, “सम्बन्धित इन्जिनियरिङको प्रयोगबिना जथाभाबी माटो खन्ने र पहाड खन्ने कामको अनुगमन हुन सकेको छैन । कति माटो काट्ने, कहाँ बस्ती बसाउने जस्ता काम भूगर्भिक इन्जिनियरिङको प्रयोगबिना गर्नुहुँदैन । यस विषयमा सरकारी निकायहरू बढी चनाखो र सचेत हुनु पर्छ ।”

नेपालको जस्तो जटिल भूबनोट तथा पहाडहरूको स्थिति चलायमान रहेको अवस्थामा अध्ययन तथा भूगर्भिक इन्जिनियरिङको प्रयोग गरेर मात्र पूर्वाधार निर्माण गर्नुपर्नेमा त्यस्तो नहुनु ठुलो जनधनको क्षति बेहोर्नु जस्तै रहेको प्राडा भण्डारीको भनाइ छ ।