बैतडी । कृषि उत्पादन बढाउन प्रदेश र स्थानीय सरकारले बैतडी जिल्लामा मात्रै वार्षिक २३ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेका छन् । लगानी अनुसार उत्पादन नबढ्दा चामलदेखि आलु र अन्डासम्मका उपभोग्य वस्तु बाहिरबाट आयात गर्नुपर्ने बाध्यता हट्न सकेको छैन ।
बैतडीवासीलाई वार्षिक ४८ हजार मेट्रिक टन खाद्यान्न आवश्यक पर्नेमा जिल्लामा १३ हजार मेट्रिक टन मकै, १० हजार मेट्रिक टन गहुँ, छ हजार मेट्रिक टन धान गरेर जम्मा २९ हजार मेट्रिक टन मात्रै खाद्यान्न उत्पादन हुने गरेको छ ।
अपुग हुने वार्षिक १८ हजार मेट्रिक टन खाद्यान्न बाहिरबाट आयात हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीको तथ्याङ्क छ ।
बितेका वर्ष जस्तै चालु आर्थिक वर्ष २०८१र८२ मा पनि कृषि ज्ञान केन्द्र बैतडीले करिब १० करोड, पशु सेवाविज्ञ केन्द्रले आठ करोड, गाउँपालिका र नगरपालिकाले पाँच करोड गरेर यस वर्ष २३ करोड रुपियाँ खर्च गर्दैै छन् ।
सरकाले कृषि क्षेत्रमा जतिसुकै बजेट खर्च गरे पनि बैतडीलगायतका पहाडी जिल्लामा तराईबाट चामल, गहुँ र चितवनबाट अन्डा आउने गरेको उद्योग वाणिज्य सङ्घ बैतडीका कोषाध्यक्ष शेरसिंह भण्डारीले बताए ।
उनले यस वर्ष अन्डाको मूल्य बढेर आएकाले प्रतिगोटा २० रुपियाँमा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए ।
विडम्बना त के छ भने, बाहिरबाट खाद्यान्न बोकेर आउने ट्रकले फर्किने बेला बैतडीबाट निर्यात गर्ने वस्तु नपाएपछि तेल खर्चको जोहो गर्न विभिन्न नदी किनारबाट बालुवा लैजाने गरेका छन् ।
तराईका जिल्लाबाट चामल, गहुँलगायत खाद्यवस्तु पहाडी जिल्ला पु¥याएर फर्किने बेला सेती नदी, चमेलिया र महाकाली नदी किनारबाट स्थानीय तहले तोकेको राजस्व तिरेर बालुवा लैजाने गरेको ट्रक धनी लोकेन्द्र ऐरीले बताए । सङ्कलन गरिएको बालुवा पहाडी जिल्लाकै विभिन्न बजार क्षेत्रमा खपत गरेर तराई झर्दा रित्तै फर्किने गरेको उनले बताए ।
त्यसै गरी खाद्य सङ्कट टार्न बैतडीमा चार ठाउँमा डिपो खोलेर खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडले वार्षिक चारदेखि सात हजार क्विन्टल चामल पठाउने गरेको छ ।
नेपाल सरकारको खाद्य ढुवानी अनुदानमा बैतडीको गोठालापानी, मेलौली, कुलाउ र पुर्चौडी डिपोमा वार्षिक चारदेखि सात हजार क्विन्टल चामल पठाउने गरेको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड धनगढीका कार्यालय प्रमुख अञ्जिला बस्नेतले बताए ।
कम्पनीले बैतडी, दार्चुला, बझाङ, बाजुरा र अछाममा ढुवानी अनुदानमा चामल आपूर्ति गर्दै आइरहेको छ । यस वर्ष मोटो चालको मूल्य ६४ रुपियाँ प्रतिकिलो कायम गरिएको बस्नेतले जानकारी दिए ।












