डडेल्धुरा । चुरेको सडकमा भएको जिप दुर्घटनामा परि ज्यान गुमाउने दुई महिलाको सनाखत भएको छ । दैजि-जोगबुडा जोड्ने सडकको लिप्ना नजिक नौलामा मंगलबार अपरान्ह भएको जिप दुर्घटनामा परि मृत्यु हुनेमा परशुराम नगरपालिका-९ सल्लेटाकी ४० वर्षीया मोतिदेवी सार्की र आलीताल गाउँपालिका-७ की ३८ वर्षीया धनादेवी बुढा रहेको प्रहरीले जानकारी दिएको छ ।
परशुराम नगरपालिका-९ नौलामा लु १ ज ४५७९ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो । जिप दैजिबाट डडेल्धुराको परशुराम नगरपालिका-११ सलेता तर्फ आईरहेको थियो ।
जिल्ला प्रहरी कार्यालयका डडेल्धुराका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो। उनका अनुसार दुर्घटनामा परी अन्य ९ जना घाइते भएका छन । उनीहरुको उपचार धनगढीमा भईरहेको छ ।
दुर्घटनामा परेको जिप सडकबाट सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा १२ जना सवार रहेको प्रहरीले जनाएको छ । चालक सकुशल रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।












