काठमाडौँ । दुई दिनयता राहदानी सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । राहदानीको ‘अनलाइन इनरोलमेन्ट’ का क्रममा भाइरस सल्केपछि सेवा अवरुद्ध भएको हो । राहदानी विभाग र त्यस अन्तर्गत राहदानी सेवा सञ्चालन हुने जिल्ला प्रशासन, इलाका प्रशासन, विदेशस्थित कूटनीतिक नियोगसमेतको सेवा ठप्प रहेकाले सेवाग्राही मर्कामा परेका छन् ।
यसबाट नयाँ राहदानी बनाउने, पुरानो राहदानी नवीकरण गर्नेलगायत राहदानीसम्बन्धी सबै कार्य अवरुद्ध रहेको जनाइएको छ । दुई दिनदेखि सेवाग्राहीले अनलाइनमार्फत आफैँले भर्न सक्ने सेवासमेत अवरुद्ध भएकाले सेवाग्राही पनि तनावमा छन् ।
सेवा अवरुद्ध भएपछि अत्यावश्यक सेवामार्फत राहदानी पाउने सुविधासमेत नपाउँदा धेरै नागरिकको विदेशयात्रा पनि प्रभावित बनेको गुनासो सेवाग्राहीले गरेका छन् । विभागले राहदानीको तथ्याङ्क व्यवस्थापनमा समस्या देखा परेकाले सेवा प्रभावित बनेको जनाएको छ ।
अनलाइनमार्फत राहदानी सेवा सञ्चालन गरिरहेको विभाग सर्भरसँग जोडिएको कम्प्युटरमा भाइरस आक्रमण भएपछि तनावमा परेको जनाइएको छ । विभागका महानिर्देशक तीर्थराज अर्यालका अनुसार केही जिल्लास्थित राहदानी सेवा दिइरहेका कम्प्युटरमा भाइरस आक्रमण भएको हो । उनले भने, “फाराम भर्ने र यता पठाउने स्थानीय कम्प्युटरमार्फत भाइरस आक्रमण भएको देखियो, त्यसले सबै सिस्टममा असर पार्ने देखिएकाले केन्द्रको सिस्टमसँग जोडिएको सर्भर नै बन्द गर्नु परेको हो ।”
सर्भरसँग जोडिएका कम्प्युटर र सफ्टवेयरमा भाइरस आक्रमण हुँदा त्यो सर्भरमार्फत फैलिएको खण्डमा राहदानीको एकीकृत प्रणाली नै बन्द हुन सक्छ । त्यसैले समस्याको सबै चुरो पत्ता लगाएर समाधान गर्न विभाग लागिपरेको महानिर्देशक अर्यालले जानकारी दिए । सकेसम्म छिटो सेवा सञ्चालन गर्न उच्चस्तरकै प्रयास भइरहेको विभागले जनाएको छ । अफलाइन हुन सक्ने काम भने विभागमा भइरहेको छ ।












