डडेल्धुरा । संघिय सरकार मातहत रहेको सुदूरपश्चिमको एक मात्र अस्पताल डडेल्धुरा अस्पतालमा डायलासिस सुरु गरिदै छ । अस्पतालले सोमबार अमरगढी नगरपालिका ४ का ५४ वर्षीय मृगौला पीडित बिरामी राजेन्द्र विक्रम भण्डारीको स्वास्थ्य परिक्षण गर्दै डायलासिस सेवा दिने तयारी गरेको हो।
भण्डारीको स्वास्थ्य परिक्षण सफल भएको छ । अबको एक साता भित्रै सेवा पूर्ण रूपमा सञ्चालनमा ल्याईने अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले जानकारी दिए ।
डडेल्धुरा अस्पतालमा डायलासिस गरिने भएपछि पहाडी जिल्लाका मृगौलामा समस्या भएका विरामीहरुलाई निकै सहज हुने भएको छ । उपचारका लागि कैलाली धाउनुपर्ने बाध्यता हटेको भन्दै बिरामी भण्डारीले खुसी व्यक्त गरेका छन । ‘आफ्नै ठाउँमा उपचार पाइने भए पछि बारम्बार कैलालीका अस्पताल पुग्नु पर्ने बाध्यता हट्ने उनले बताए ।
अस्पतालमा पाँच वटा डायलासिस मेसिन रहेका छन । उक्त मेसिन सञ्चालनका लागि पूर्ण जनशक्ति रहेको अस्पताल विकास समिति अध्यक्ष ओझाले बताए । उनका अनुसार डायलासिस सेवा सुचारू गर्न कानूनी रूपमा सुचिकृत गर्नु पर्ने भएकोले पूर्ण रूपमा सेवा सञ्चालनमा आउन एक साता लाग्ने छ।
‘अस्पतालका मेसु भोलि नै काठमाडौं जाँदै छन । मन्त्रालय र सम्बन्धित विभागबाट अनुमती लिनुपर्छ,’ उनले भने, ‘डायलासिसको टिमले अनुगमन गर्छ । बैधानिकता पायो भने अनि हामीले नियमित सेवा दिन पाउनेछौं।’
डडेल्धुराका १२ जना मृगौला पीडित बिरामी सम्पर्कमा रहेको अस्पतालले जनाएको उहाँको भनाई छ । यहाँ सेवा सञ्चालनमा आए सुदूर पहाडका बिरामीलाई सहज हुने छ।
यसअघि यहाँका बिरामी डायलासिस गराउन सेती प्रादेशिक अस्पताल धनगढी कैलाली जानु पर्ने बाध्यता थियो ।












