डडेल्धुरा । सहकारी संस्थाबाट ११ लाख बढी नगद रकम चोरी भएको नौ महिना पुगे पनि चोरीमा संलग्न पक्राउ पर्न सकेका छैनन् । जिल्लाको भित्रि मधेश जोगबुडा क्षेत्र परशुराम नगरपालिका–४ कटालमा रहेको शिर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयबाट ११ लाख १३ हजार ४९६ रुपैयाँ चोरी भएको थियो ।
गत चैत २३ गते २०८० शुक्रबार बेलुकी बन्द गरिएको सहकारी संस्थाबाट उक्त रकम चोरी भएको २६ गते आईतबार बिहान मात्रै थाहा भएको थियो । शुक्रबार राती वा शनिबार राती कहिले चोरी भयो भन्नेसमेत थाहा थिएन ।
कर्मचारीले आईतबार बिहान कार्यालय खोलेपछि चोरी भएको थाहा पाएका थिए । आफ्नै भवनमा रहेको कार्यालयको पछाडीको ढोका खुलेको र नगद राखेको लकर फुटाईएको थियो । कर्मचारीले चोरी भएको आशंका गरेपछि ईलाका प्रहरी कार्यालय लालढुंगामा जानकारी गराएका थिए ।
चोरी भएको नौ महिना पुग्दासम्म चोरीमा संलग्न र चोरी भएको रकमको अत्तोपत्तो छैन । २०६६ मा स्थापना भएको सहकारीले वर्षमा करिब १२ करोड सम्मको कारोबार गर्दै आईरहेको सहकारी संस्थाका अध्यक्ष बिरेन्द्र बिष्टले बताए ।
प्रहरीले अनुसन्धान फितलो गरेको उनको गुनासो छ । राजनीतिक हस्तक्षेप र प्रहरीको मिलोमतोमा अनुसन्धान फितलो भएको उनले बताए । सिसिटिभि फुटेजमा देखिएको दृष्यमा रातिको समयमा दुई जना भित्र पसेको देखिएको छ । तर हुलिया ठम्याउन सकिदैन । शंकासपद व्यक्तिको मौखिक रुपमा नाम किटान गरे पनि अनुसन्धान नगरिएको उनको गुनासो छ । फोन कल भएको विस्तृत विवरण अनुसार अनुसन्धान गर्न आग्रह गर्दा प्रहरीले उल्टै सिकाउने भनी हप्काउने गरेको उनले बताए ।
अध्यक्ष बिष्टका अनुसार लकर तोडेर नगद चोरी भएको थियो । लकरको साँचो लगाउने ठाउँमा ड्रिल गरेर वा ढुंगा काट्ने फलामको छिनो प्रयोग गरेर लकर तोडेको देखिन्छ ।
सहकारीमा चोरी हुदा ऋणको ९१ प्रशित मात्रै असुली भएको अध्यक्ष बिष्टको भनाई छ । कारोबार रकममा कमी नआए पनि चोरीका कारण असुल हुन नसकेको उनले बताए । यसले बोनस बाड्न सकस देखिएको उनले भनाई छ ।
जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय लालढुंगामा अहिले प्रहरीको नेतृन्त्व फेरिए पछि नयाँ नेतृत्व आएको छ । सहकारीका अध्यक्ष बिष्टका अनुसार ईलाका प्रहरी कार्यालयमा गएर चोरीका बिषयमा चासो राख्दा चोरी भएको समयमा प्रहरी अनुसन्धानलाई नसघाएको भन्ने जवाफ आउछ । त्यती बेलाको प्रहरी नेतृत्वले हाम्रो कुरा नै सुनेन, उनले भने, अहिलेको प्रहरी नेतृत्व नसघाएको भनेर पन्छिदै छ ।
नगद मात्रै चोरी भएकाले अनुसन्धानमा कठिनाई भएको प्रहरीको भनाई छ । वस्तु चोरी भएको भए फेला परे पछि अनुसन्धानमा सहज हुने भन्दै प्रहरीले नगद मात्रै चोरी भएकाले अनुसन्धानमा कठिनाई भएको जनाउदै आएको छ ।













